विराटनगर । उदयपुरको बेलकामा एकै परिवारको तीनजनाको हत्या भएको छ । हत्या हुनेहरुमा स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको हत्या भएको हो ।
मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ समेत गरेको छ ।
‘हत्या गरेर स्थानीय खोलामा शव फालेको खुलेसँगै इन्स्पेक्टरको कमाण्डमा खटेको टोलीले बेलका नगरपालिका ६ वरबोटेबाट बस्नेतलाई पक्राउ गरेको एसपी राईले जानकारी दिए ।
घटना कहिले भएको यकिन नभएपनि शुक्रबार शव भेटिएको र शव पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए । हत्याको आरोपमा पक्राउ परेका बस्नेतमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए ।

