फालैचा विशेष। आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार युट्युबमार्फत करिब तीन मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ फिल्मको कथा झल्काएको हो ।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीको सम्बन्ध वरिपरि घुम्ने पारिवारिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’को भूमिकामा देखिएका छन् । बाल्यकालदेखि टुहुरा बनेका काजीले विवाहपछि श्रीमतीप्रति गर्ने प्रेम, भरोसा र सम्बन्ध जोगाउने प्रयासलाई कथाको मुख्य आधार बनाइएको देखिन्छ ।
वैवाहिक जीवनमा आउने उतारचढाव र कजिनीले बोलेको एउटा झुटपछि कथाले नयाँ मोड लिने संकेत ट्रेलरले गरेको छ । पारिवारिक भावना र प्रेमकथामा आधारित भएकाले फिल्म दर्शकमाझ रुचाइने अपेक्षा गरिएको छ ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ तथा प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा गरिमा शर्माले विपिनकी सालीको भूमिकामा अभिनय गरेकी छन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।

