इटहरी । काठमाडौं उपत्यकामा आज बिहानैदेखि तनावपूर्ण वातावरण सिर्जना भएको छ। सरकारको निर्णयअनुसार सुकुम्वासी बस्ती खाली गराउने अभियान सुरु भएसँगै विभिन्न क्षेत्रका बासिन्दामा त्रास र अन्योल देखिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त समन्वयमा थालिएको यस अभियान अन्तर्गत पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रमा डोजर चलाउने तयारी गरिएको छ। बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
महानगरको टोलीले हिजो साँझ नै माइकिङ गर्दै आजै बस्ती खाली गर्न चेतावनी दिएको थियो। त्यसपछि केही परिवारहरू रातारात आफ्नो बासस्थान छाड्न बाध्य भएका छन् भने कतिपय अझै अन्योलमै छन् । कहाँ, बस्ने कहाँ भन्ने प्रश्न उनीहरूलाई सताइरहेको छ।
यसबीच बालेन्द्र शाह ले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने स्पष्ट संकेत दिँदै वास्तविक सुकुम्वासीको पहिचान गरेर मात्रै व्यवस्थापन गरिने बताएका छन्। तर, स्थलमै बसोबास गरिरहेका धेरै मानिसहरूले आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रहरी स्रोतका अनुसार बल प्रयोग नगर्ने नीति अपनाइए पनि यदि अवरोध, विरोध वा आक्रमण भयो भने कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ। यसले सम्भावित द्वन्द्वको जोखिमलाई अझ बढाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच कुनै पनि बेला झडप हुन सक्ने अवस्था देखिएको छ। काठमाडौंको मुटुमा भइरहेको यो अभियानले मानवीय संवेदना र कानुनी कार्यान्वयनबीचको टकरावलाई पुनः सतहमा ल्याएको छ।

















