लन्डन, बेलायत — नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा सम्भावना र विस्तारको सम्भाव्यता विषयक गहन छलफल बेलायतमा सम्पन्न भएको छ। नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा आयोजित उक्त विशेष अन्तरक्रियात्मक कार्यक्रममा नेपाल र बेलायतका चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य विषय “विदेशमा नेपाली चलचित्रको विकास र विस्तार” रहेको भए पनि सहभागीहरूले नेपाली सिने उद्योगको वर्तमान अवस्था, भविष्यका सम्भावना, चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका उपायहरूमा विविध कोणबाट विचार–विमर्श गरे।
कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले तथ्यांकसहित नेपाली फिल्म उद्योगको समग्र चित्र प्रस्तुत गरे। उनले “चलचित्रमा लगानी अब केवल भावनाको कुरा नभई सम्भावनाको कुरा हो” भन्ने धारणा राखे।
निर्देशक दिपेन्द्र लामाले भने, “विदेशी लगानी र रेमिट्यान्सको रूपमा फिल्मको आम्दानी नेपाली सिनेमाको दीर्घकालीन स्वास्थ्यका लागि अत्यावश्यक छ।”
त्यस्तै, निर्माता आकाश अधिकारीले नेपाली सिनेमालाई हृदयदेखि माया गर्नुपर्ने बेला आएको बताउँदै यसका गुणस्तर सुधारका पक्षमा जोड दिए।
निर्देशक अरुण कुमार प्रधानले स्कटल्याण्डमा सम्पन्न निफ २०२५ को समीक्षा गर्दै, “यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपाली सिनेमा प्रेमीहरूलाई गहिरो रूपमा जोड्ने अवसर दिन्छ,” भने।
बेलायतस्थित चलचित्रकर्मी शशी थापा सुब्बाले नेपालबाट आउने निर्देशक–निर्माताहरूसँग बेलायतका नयाँ प्रतिभाहरूलाई प्रशिक्षण र अवसर दिन आग्रह गरे। “स्थानीय स्तरमै सशक्त वातावरण बनाउनु अहिलेको आवश्यकताको मूल कुरा हो,” उनले थपे।
फ्लोर ओपन सेसनमा बेलायतमा बसोबास गर्ने चलचित्रकर्मीहरूका प्रश्नहरूको उत्तर नेपालबाट आएका प्रतिनिधिहरूले दिए। कार्यक्रममा विभिन्न चलचित्रप्रेमी, कलाकार, निर्माता, लेखक र संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो।
संचालन मनिष श्रेष्ठले गरेका थिए भने निर्देशक समाज युके च्याप्टरका अध्यक्ष सनम कुमार बैरागले सभापतित्व गरेका थिए।
कार्यक्रमको समापनमा निर्देशक समाज नेपालका अध्यक्ष पराजुलीले बेलायतका नेपाली चलचित्रकर्मीहरूलाई लक्षित गर्दै शीघ्र क्षमता अभिवृद्धि कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे। साथै, स्कटल्याण्डमा सम्पन्न निफ २०२५ मा अनुपस्थित रहेका केही चलचित्रकर्मीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

















