रामधुनी । थारु समुदायको मौलिक कला, संस्कृति, भाषा र चलचित्रलाई राष्ट्रिय पहिचान दिलाउने लक्ष्यसहित सुनसरीको झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ हुने भएको छ। थारु समुदायको मौलिक कला, संस्कृति, भाषा र चलचित्रलाई राष्ट्रिय पहिचान दिलाउने लक्ष्यसहित महोत्सव यही असार ६ र ७ गते दुई दिन सम्म भव्य रूपमा आयोजना हुन लागेको हो ।
पहिलो दिन झुम्कास्थित कलश पार्टी प्यालेसमा थारु समुदायको झाँकी, लोकनृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू हुनेछन् भने दोस्रो दिन म्याजिक सिनेमा हलमा थारु भाषाका चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
बुधबार महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा थारु चलचित्रका पहिलो नायक तथा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले थारु भाषामा थुप्रै फिल्महरू निर्माण भइरहेको र ती आमदर्शकमा पुग्न नसकेको अवश्थामा यस पटकको महोत्सव थारु चलचित्र क्षेत्रका लागि ऐतिहासिक बन्ने बताए ।
महोत्सवमा थारु चलचित्रसँग सम्बन्धित कार्यक्रम, थारु नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, विशिष्ट व्यक्तित्व सम्मान, वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहने अध्यक्ष चौधरीले जानकारी दिए । महोत्सवमा पूर्वदेखि पश्चिमसम्मका चर्चित कलाकार, निर्माता, निर्देशक, वितरक, चलचित्रकर्मी र राजनीतिक दलका नेताहरूको समेत उपस्थिति रहने उनले बताए।
महोत्सव थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजना, मोरङ र सुनसरी कार्य समितिको सह-आयोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको चौधरीले जानकारी दिए ।

















