इटहरी । रौतहट बमकाण्डका मुख्य अभियुक्त एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि उनीहरूकै कार्यकक्षमा कालो मोसो प्रहार भएको छ।
बिहीबार दिउँसो उच्च अदालत जनकपुरको वीरगञ्जस्थित स्थायी इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि मोसो छर्केको आरोपमा प्रहरीले ‘नेकपा बहुमतका कार्यकर्ता’ बताउने तीन जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानका ३८ वर्षीय किशोर कुँवर ९अविनाश०, सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र सिराहा जिल्ला इन्चार्ज रहेका ४८ वर्षीय गर्भु महतो छन्।
उनीहरूले दिउँसो ४ बजेर १० मिनेटमा न्यायाधीशको कार्यकक्षमा प्रवेश गरी फैसलाको विरोधमा मोसो प्रहार गरेका थिए। घटनाको एक जनाले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण ९लाइभ० समेत गरेका थिए।
न्यायाधीशद्वय थारु र महर्जनको इजलासले गत जेठ १४ गते जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो। २०६३ चैत २७ गते संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो।
उक्त घटनाको १२ वर्षपछि २०७६ असोजमा पक्राउ परेका आलम करिब ५ वर्ष ८ महिना जेल बसेपछि उच्च अदालतको फैसलासँगै रिहा भएका थिए।
यतिबेला आलम रौतहटस्थित आफ्नो घरमा बकरिद पर्व मनाइरहेका छन्। निकै कमजोर देखिएका आलमले मस्जिदमा पुगेर नमाज अदा गरेका थिए। आलमसँगै नेपाली काँग्रेसका दर्जनौं कार्यकर्ताका साथै गाउँलेहरुको सहभागिता रहेको थियो। उनको स्वागतमा गाउँमा खुसीयालीको माहोल रहेको र उनलाई भेट्न समर्थकहरूको भीड लाग्ने गरेको छ।
न्यायाधीशमाथि कालो मसी छर्किने घटनाको नेकपा बहुमतका केन्द्रीय सदस्य पदम बहादुर विश्वकर्माले लाइभ प्रसारण पनि गरेका थिए।


















