इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिंगो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिबार मोरङको सुन्दरहरैंचा ५ स्थित हसिना सिमसार परिरसमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रमममा उनले जलाधार र जंगल क्षेत्रको विनासका कारण पानीका मुहान र स्रोत सुक्दै गएको उल्लेख गरे ।
‘हामीले जलाधार र जंगल क्षेत्रको संरक्षण गर्यौ भने धेरै तल सम्म पानीको स्रोतलाई जोगाउन सक्छौं । अहिले चुुरे दोहनका कारण मधेश प्रदेशका विभिन्न ठाँउमा ४०० फिट खन्दा समेत पानी पाउन सकिरहेको अबस्था छैन ।’ उनले भने ।
जंगल जंगल जस्तो नभएकाले जलवायु परिवर्तनको विकराल अबस्था सम्म आईपुुगेको उनले उल्लेख गरे । जनावरमैत्री जंगल अभियानमा समेत रहेका उनले जंगल क्षेत्रलाई संरक्षण गर्न सकेमा जलवायु परिवर्तनको संकटबाट बच्न सकिने उल्लेख गरे ।
कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । अभियान अन्तरगत उनले आफ्नो नेतृत्वमा कोशी प्रदेशका जंगल क्षेत्र भित्र जंगल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्दै आएका छन् । शनिबार हसिना सिमसार परिरसमा भएको वृक्षारोपण नेपाली कांग्रेस सुन्दरहरैंचा ५ र नमूना सामुदायीक बनले आयोजना गरेका हुन् ।
कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरुप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै विरोध समेत जनाएका छन् ।

















