मैत्रीपूर्ण खेलमा ब्राजिलले स्पेनलाई बराबरी रोक्यो

मैत्रीपूर्ण खेलमा ब्राजिलले स्पेनलाई बराबरी रोक्यो
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिलले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । लुकास पाक्वेटाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।

रियाल मड्रिडको बर्नाबेउमा गएराति भएको खेलमा ब्राजिल दुई-शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । १२औं मिनेटमा नै रोद्रीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३६ औं मिनेटमा डानी ओल्मोले एक्लो प्रयासमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए । ब्राजिल पहिलो हाफमानै खेलमा फर्कियो । ४० औं मिनेटमा रोद्रिगो ले स्पेनसँगको गोल दूरी २-१ मा झारेका थिए ।

५० औं मिनेटमा १७ वर्षीय एन्ड्रिकले खेल बराबरी गरे । चार दिनको अन्तरमा एन्ड्रिकको यो दोस्रो गोल हो । गत शुक्रबार इङल्यान्डलाई एक-शून्य गोलले पराजित गर्दा एन्ड्रिक ब्राजिल र क्लब दुवैमा वेम्बलीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । ८७ औं मिनेटमा रोद्रीले पेनाल्टीमा नै गोल गरेर फेरि स्पेनलाई अघि बढाएका थिए । तर इन्जुरी समयमा पाक्वेटाले गोल गरेर ब्राजिलको हार टारे । यो अन्तर्राष्ट्रिय ब्रेकमा स्पेन जितविहीन रह्यो । यसअघि लुइस इनरिकेको टोलीले कोलम्बियासँग १-० गोलको हार बेहोरेको थियो ।

फ्रान्सले पनि मैत्रीपूर्ण खेलमा चिलीलाई ३-२ गोलले हरायो । छैटौं मिनेटमा चिलीका मार्सेलिनो नुनेजले गोल गरेका थिए । १८ औं मिनेटमा युसुफ फोफानाले खेल बराबरी गरे । २५ औं मिनेटमा रान्डल कोलो मौनीले गोल गरेपछि फ्रान्स-दुई एकले अघि रह्यो। ७२ औं मिनेटमा ओलिभर जिरुडले टिमका लागि तेस्रो गोल थपे । ८२ औं मिनेटमा डारियो ओसोरियोले गोल गरे पनि चिलीले किलियन एमबाप्पेको टोलीलाई जित हात पार्नबाट रोक्न सकेनन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here