कञ्चनपुर । कञ्चनपुरमा जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शनिबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएशनलगायत सङ्घसंस्थाले जलपक्षी गणना सुरु गरेका हुन् ।
आजदेखि माघ ७ गतेसम्म जलपक्षी गणना जारी रहने नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपक्षी गणना हुने छ ।
निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपक्षी गणना हुने चराविज्ञ डगौराले बताए । जलपक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जीपीएस’सहितको क्यामेराको प्रयोग गरिने छ । हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना गर्ने र स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर गणना गर्ने कार्यतालिका रहेको उनले बताए ।
सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपक्षी गणनको कार्य हुने डगौराले जानकारी दिए ।
कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपक्षीसमेत यहाँ रहेका छन् । उहाँका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त ठाउँ भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।
चैतदेखि जेठसम्म पुनः पक्षी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपक्षी गणना हुँदै आएको छ ।

















