इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी आयोजना हुने भएको छ । कोसी प्रदेशका उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको प्रवर्द्धन तथा बजारीकरण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी महिला उद्यम समितिले जानकारी दिएको छ ।
‘हाम्रो ठाउँ, हाम्रै उत्पादन’ भन्ने मूल नाराको साथ भाद्र १५ देखि १७ गते सम्म प्रदर्शनी आयोजना गरिने महिला उद्यम समितिकी संयोजक मिना ढकालले जानकारी दिइन् । प्रदर्शनीमा घरेलु लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरू, कृषिजन्य जडीबुटी, हस्तकला सौन्दर्यकला सम्बन्धी सामाग्रीहरू, पर्यटन क्षेत्रको जानकारी डेस्क तथा कारागारबाट उत्पादित सामाग्रीहरू राखिने छ ।
इटहरीको लायन्स क्लबमा आयोजना गरिने प्रदर्शनीमा इटहरी तथा कोसी प्रदेशका १४ वटै जिल्लाका उद्यमीहरूको एक सय वटा स्टल रहने छ । प्रदर्शनीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा गर्दा १४ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रदर्शनीमा युवा उद्यमी मञ्च सुनसरीले ३ विधामा उत्कृष्टहरूलाई सम्मान गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले व्यवसायीका हितका लागि निरन्तर रूपमा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताए ।

















