इटहरी । संखुवासभा जिल्ला कारागार खाँदबारीमा मृत्युु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलासा भएको छ ।
कैदीको मृत्यु हुनु अघि प्रहरीले निर्घात रुपमा कुटपिट गरेको अनुसन्धानबाट खुलस्त भएपछि प्रदेश प्रहरी कार्यालय श्रोतले जानकारी दिएको हो ।
जिल्ला कारागारमा रहेको सी सी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको कार्यलय श्रोतले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार कारागार भित्रै कैदीमाथि लाट्ठी र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देखिएको छ ।
कैदीमाथि बारम्बार लाट्ठी र मुक्का प्रहार गरेको हुनाले कैदिबन्दिको मृत्यु भएको हुन सक्ने प्रहरी कार्यलय श्रोतले जनाएको छ ।
प्रहरीले कुटपिटको घटनामा सम्लग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई नियन्त्रणमा लिएको बताए ।
उनले कारागारको सुरक्षामा खटिएका प्रहरीले कैदीमाथि अन्यन्त्रित व्यवहार गरेको जानकारी दिएका छन् ।
प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सी सी टी भी फुटेज अनुसन्धान भएको बास्तोलाले जानकारी दिएका छन् ।
कारागारको सुरक्षामा रहेका असइ लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो।

















