इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचन यही साउन २० गते (भोली) हुँदै छ । जसका लागि ७ सय २८ परिषद्ले आफ्नो मतबाट १३ जना सदस्य छान्नुपर्ने हुन्छ ।
विश्वविद्यालय त्यसमाथि क्याम्पसहरू शैक्षिक गन्तव्य भन्दा पनि राजनीति गर्ने थलो बनेको र शैक्षिक उपलब्धि प्राय शून्य भएको भन्दै स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् । चुनावमा शवै राजनीतिक दल एकातर्फ भागबन्डाका साथ अगाडि बढिरहँदा स्वतन्त्र उम्मेदवारले पनि राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहेर काम गर्ने अठोटका साथ चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् ।
यसैबिच क्याम्पस सञ्चालक समितिको सदस्यमा रामधुनी सुनसरीका पुष्प कार्की स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन् । राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहेर काम गर्ने अठोटका साथ चुनावी अभियान सञ्चालन गरिरहेका कार्कीसँग फलैचा न्यूजले कुराकानी गरेको छ । उनीसँगको कुराकानीको सम्पादित अंश :
चुनावको लागि के गरिरहनु भएको छ ?
अहिले भनेको परिषद् सदस्यहरूलाई सम्पर्क गर्ने, म्यासेज गर्ने, क्याम्पस राजनीतिले गाँजिएको छ । यसलाई कसरी मुक्त गराउने भन्ने बारेमा चिन्तन गर्ने योजना बनाउने, सुनाउने आवश्यक सल्लाह समेत लिने गरिरहेको छु । राजनीतिले गाँजेको क्याम्पसलाई मुक्त गराउन सजिलो छैन । अध्ययन अनुसन्धानका साथ काम गरिरहेको छु ।
राजनीतिले गाँजेको क्याम्पस भन्नुभयो तपाई चैँ आफूलाई कस्तो उम्मेदवार ठान्नुहुन्छ ?
अवश्य पनि म एक स्वतन्त्र उम्मेदवार हुँ । मेरो उम्मेदवारी मात्रै हैन क्याम्पसलाई स्वतन्त्र ढङ्गबाट चलाउनका लागि र भागबन्डाको अन्त्य गरी विशुद्ध शैक्षिक गन्तव्य बनाउनका लागि मेरो उम्मेदवारी रहेको छ । यहाँ त के छ भने भागबन्डाका लागि सबै राजनीतिक दलहरू एक आपसमा मिलेर चुनाव लडेका छन् । यही भागबन्डाले क्याम्पसको हविगत कस्तो छ अहिले सबैलाई थाहै छ । यसलाई मुक्त गराउनु नै छ । र यो सम्भव पनि छ । मैले मेरो स्वतन्त्र उम्मेदवारीलाई यसै रूपमा लिएको छु ।
तपाई त इटहरी बाहिरको उम्मेदवार हो इटहरीको सिन्डिकेट तोड्नुपर्छ भनेर अध्यक्षको समेत तयारी गरिरहनु भएको छ नि ?
हो परिषद्का सदस्यहरूले सदस्य चुनेपछि त्यसपछि अध्यक्षको कुरा आउने हो । यो इटहरीको मात्रै क्याम्पस हैन, सुनसरी, कोसी प्रदेश हुँदै देशभरबाटै प्रतिनिधित्व गर्ने विद्यार्थीहरू पढिरहेका हुन्छन् । तर सञ्चालक समिति चैँ जहिल्यै इटहरीको हुनुपर्ने हुन्छ र यस पटक चैँ इटहरीको सिन्डिकेट चैँ तोडौँ न भन्ने हो । त्यसका लागि पनि परिषद् सदस्यहरूलाई म अपिल गर्न चाहन्छु सबै क्षेत्रको प्रतिनिधित्व गराऔँ । त्यो हुने भनेको मतदान बाटै हो ।
तपाईँका मुख्य योजना के छन् ?
प्रमुख कुराबाटै सुरु गरौँ, मेरा ठुला योजना छैनन् । साना साना कुराबाट नै क्याम्पस सुधार्न सकिन्छ । आज यो गर्छु भनो अनि भोली नगर्ने राजनीतिक दलका भाषणहरू हामीले धेरै सुनिसक्यौँ । म त्यसो गर्दिन, साना साना काम गर्ने हो जसले क्याम्पसलाई समुन्नतिको बाटोमा डोराउँदछ । सर्वप्रथम त अहिलेसम्म क्याम्पसको जग्गा कहाँ कति छ भन्ने कुरा अझै सम्म यकिन छैन । अभिलेख छैन त्यसलाई अभिलेखीकरण गरेका हाम्रो सार्वजनिक सम्पत्तिलाई सुरक्षित गर्ने हो ।
अर्को कुरा यहाँको बेथिति भनेको नै राजनीतिक दल हुन । यहाँको कर्मचारी नियुक्तिदेखिका कुराहरू सबै राजनीतिक दलको आडमा हुने गरेको सबैलाई थाहै छ । अस्ति भर्खरै पनि भागबन्डै नमिलेर कर्मचारी नियुक्ति प्रक्रिया रोकिन पुग्यो । यसले त अन्ततः क्याम्पस अधोगतिमै जाने हो । यसलाई मुक्त गराउने हो ।
अर्को कुरा खास गरी क्याम्पसमा छात्राहरू बढी समस्यामा परिरहेका हुन्छन् त्यसका लागि क्याम्पसमा छात्रावासको व्यवस्था गर्न लागि पर्ने छु । क्याम्पसलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउने नै मेरो अभियान हो ।
अन्त्यमा ?
अन्त्यमा क्याम्पस भनेको कुनै राजनीतिक थलो हैन । विशुद्ध शैक्षिक थलो हो । अहिले आफैँ हेनुहोस न, नेपालको शैक्षिक अवस्था कति कमजोर र ढिलासुस्तीमा भएको छ । दैनिक कति विद्यार्थी पढ्न कै लागि बिदेसिनुपर्ने अवस्था छ । यहाँको शैक्षिक अवस्था राम्रो भइदिएको भए, प्रविधिसँग चलिदिएको भए । शिक्षा रोजगारीसँग जोडिएको भए । उत्पादनमुखी शिक्षा प्रणाली भइदिएको भए यो अवस्था आउने थिएन ।
त्यसको कारण भनेको चाकडी गर्नेलाई नेतृत्व दिने, प्रविधिसँग समायोजन हुन नसक्ने राम्रा लाई भन्दा हाम्रालाई प्राथमिकता दिनेले नै हो । अब यसलाई सुधार गर्नै पर्दछ त्यसको लागि जसैबाट समाधान खोज्ने हो । जनता क्याम्पसको हकमा पनि मैलै यिनै सुधारका योजना सहित मेरो उम्मेदवारी दिएको हुँ । सम्पूर्ण परिषद्का सदस्यहरूलाई म मतदानका लागि म अपिल गर्दछु ।