इटहरी । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं १३ स्थित चारआली चोकबाट सुपारी नियन्त्रणमा लिएको हो ।
चारआलीमा प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिल नभएको ६१ बोरा सुपारी फेला परेको थियो ।
१० लाख ८३ हजार मूल्यबराबरको अन्दाजी २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं ७ बस्ने १९ वर्षीय आकाश धिमाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
गाडी चालकसहित पिकअप र सुपारीमाथि आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्दप्रसाद रिजालले बताए ।

















