इटहरी । मोरङको रंगेली नगरपालिकाका एक जना सुनचाँदी व्यवसायी करोडौं मोल पर्ने गरगहना लिएर परिवारसहित फरार भएका छन् ।
रंगली नगरपालिका वडा नं ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका संचालक पवनकुमार सोनी गरगहना सहित फरार भएका हुन् । करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएपछि उनको पसलमा सुन धरौटी राखेर रकम लिएकाहरु र ब्याजमा रकम लगाउनेहरु विचल्लीमा परेको जिल्ला प्रहरी कार्यलय रंगेलिले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी परेअनुसार उनले २ करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदी लिएर सोनी फरार भएको पिडितले बताएका छन् ।
सोनीले गरगहनाको साथमा नगदसमेत लिएर फरार भएको स्थानीयको भनाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रंजनकुमार दाहालका अनुसार उजुरी पर्ने क्रम जारी रहेकाले सोनीले गरेको आर्थिक अपचलनबारे थप खुल्दै जाने देखिएको छ ।
सोनीसँग काम गर्ने कर्मचारीको विश्वासको भरमा लाखौं रुपैयाँ सापटी समेत दिएको स्थानीय सागर साहले बताएका छन् ।

















