इटहरी । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापालगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा २४० जना डेङ्गुका बिरामी फेला परेका छन् । उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको संख्या ३१२ जना पुगिसकेको छ ।
मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिसकेको पाइएको छ । गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ ।
पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना गरी ७७ जना डेङ्गु संक्रमित रहेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् ।
सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै रहेका छन् । स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए ।
प्रादेशिक अस्पताल भद्रपुरमा डेङ्गुका बिरामीको उपचार भइरहेको र डेङ्गु फैलिन नदिन जनचेतनामुलब कार्यक्रमहरु सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिएका छन् ।


















