इटहरी । एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर बिर्तामोड– २ को मोहनमाया माध्यमिक विद्यालय झापा जिल्लाकै उत्कृष्ट बनेको छ ।
संस्थागत विद्यालयहरूलाई समेत उछिन्दै सामुदायिक विद्यालय मोहनमाया माविले यस वर्षको एसईईमा उत्कृष्ट स्थान हासिल गरेको हो ।
मोहनमायाबाट २६ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउने २४ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ३६ जना, २.४० देखि २.८० जीपीए ल्याउने १४ जना, २.०० देखि २.४० जीपीए ल्याउने ११ जना र १.६० देखि २.०० जीपीए ल्याउने ४ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार मोहनमायाबाट ११५ जनाले एसईई दिएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ झापाका अनुसार सबैभन्दा धेरै विद्यार्थीले उच्च जीपीए हासिल गर्ने सामुदायिक तथा निजी विद्यालयहरूमध्ये सामुदायिक विद्यालय मोहनमाया जिल्लाकै उत्कृष्ट बनेको हो ।
प्रधानाध्यापक श्रेष्ठले योग्य, इमान्दार तथा तालिमप्राप्त शिक्षकहरूको मेहेनतको प्रतिफल भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘हामीलाई यो परिणामले अझ धेरै मेहेनत गर्ने प्रेरणा मिलेको छ। विद्यार्थीको अध्ययनका लागि शिक्षकले अतिरिक्त समय खर्चेर योजना बनाउनु पर्छ ।
झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् ।
जिल्लाभरका ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।