इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मुख बन्द गरेर लोकतन्त्र नहुने टिप्पणी गरेका छन् ।
सोमबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘लोकप्रियतावादको लहडकाबीच नेपाली कांग्रेसको अबको यात्रा’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै डा. रिजालले लोकतन्त्रमा विभिन्न विचारको कदर गर्नुपर्ने तर्क गरे ।
पूर्व रक्षा तथा सूचनामन्त्री समेत भइसकेका उनी गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि विभिन्न विचार र बहसमा सहभागी हुँदै आएका छन् ।
यसैबीच सोमबार भएको विचार गोष्ठी कार्यक्रममा करिब दुई घण्टा मंतव्य दिएका उनले कार्यकर्ताहरूको सुझाव र प्रश्नको जवाफ पनि दिएका थिए ।
‘अहिलेको समाजमा रहेका निराशालाई, चाहना पूरा नभएकाहरूलाई समेटेर व्यवस्था नै उल्टाउन खोजिदैँछ,’ रिजालले भने, ‘यसका विरुद्व कांग्रेस कडा रूपमा प्रस्तुत हुन्छ ।’
उनले भीडसँग जोडिएर भन्दापनि भीडसँग जोगिएर काम गर्न सुझाव दिए । ‘हामीलाई आजको दिनमा तत्कालको कुरा आवश्यक छ । हामीहरू मेस्सीको जस्तो आनन्दको जीवन अहिल्यै चाहियो भनिरहेका छौँ, पर्खिने कुरै छैन,’ उनले भने, ‘आज किताब पढेर होइन, किताबका पन्ना पल्टाएर विचार निर्माण गरिरहेका छौं, अबको समाजमा हामीले भीडसँग जोडिएर भीडमा म पनि छु भन्ने होइन, भीडसँग जोडिएर काम गर्न आवश्यक छ ।’
वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको लडहले कांग्रेस पार्टीबाट आम जनता निराश भइहाल्नुनपर्ने उनले बताए । उनले भने, ‘आजसम्म रास्वपाले भनेको कुरा के भने हिजोका पार्टीले चलेन मात्रै भनिरहेको छ । रास्वपाको विचार के हो थाहा छैन । आज पनि जनाधार खुम्चदै जाँदा देशभर कांग्रेस ठूलो पार्टी छ ।
चुनौती स्वीकारेर काम गर्नुपर्ने कुरा कांग्रेसले बुझेको छ ।’ यद्यपि, अहिलेको परिस्थितिमै मात्र पनि देश निर्माण नहुने र नेतृत्व तहले सबक सिक्न आवश्यक रहेको उनको भनाइ छ ।
‘अब आउने चुनाव सम्ममा प्रसस्तै कांग्रेस बदल्ने अवसर छ,’ उनले भने, ‘अहिलेकै नेतृत्वमा अनुभव र नयाँ प्रयोग गर्न सक्ने चाहना भएको पार्टी कांग्रेसको जस्तो कुन पार्टी छ ?’ उनले कांग्रेसमा अनुभव पनि भएका र नयाँ विचार पनि भएका व्यक्तिहरू भएका कारण पनि आगामी दिनमा सच्चिएर जाने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कांग्रेसभित्र पनि लोकप्रियतावादको लहड चलेको टिप्पणी गरे ।
‘लोकप्रियताको लहडमा भित्री बोतलमा लोकल रक्सी र बाहिर ब्रान्डेड टाँस भएजस्तो अवस्था छ,’ कोइरालाले भने । केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान केन्द्रीय सभापति राजीव ढुंगानाले अहिले जनताले कांग्रेसको कार्यशैलीमा परिवर्तनको आशा राखेको बताए । ‘कतिपय मानिसहरू कन्टेन्ट भन्दा पनि प्रस्तुतिमा रमाउन थालेका छन् ।
गुदी राम्रो नभएको तर बाहिरी राम्रो हुन खोज्दा समाज अर्को खाडलमा पर्न सक्ने संकेत देखिन्छ । ’उनले वर्तमान अवस्थामा रास्वपाले लोकप्रियतावादको नाममा आँखामा पट्टी लगाउन खोजिएको टिप्पणी गरे । कृत्रिम लोकप्रियतातर्फ समाज उन्मुख भएकाले पनि कांग्रेस कार्यकर्ता सचेत हुनुपर्ने उनको तर्क छ ।
सुनसरी सभापति केदार भण्डारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व उपसभापति विकास केसीले आम जनतामा निराशा छाएपनि यस्ता किसिमका कार्यक्रमले जनतामा कांग्रेसप्रति आशा जगाउने बताए ।
कार्यक्रममा सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राईले सधैंभरी एकै किसिमको कार्यक्रम भन्दा पनि फरक ढंगबाट कार्यक्रम आयोजना गरिएको बताए । ‘लोकप्रियतावादमा अगाडि बढ्दा समाज कस्तो बन्छ भन्ने चित्रण गर्न पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।
कार्यक्रममा विभिन्न ठाउँबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सुनसरी क्षेत्र नं. २ (क) का सचिव चिन्तामणी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

















