इटहरी । सर्वसाधणलाई चिठ्ठा परेको भन्दै २२ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ का उदय राईमाथि ठगी गरेको आरोपमा तीन युवकलाई पक्राउ गरिएको हो ।
सामाजिक सञ्जालको प्रयोग गरी २२ लाख २० हजार ठगी गर्ने उदयपुरको कटारी नगरपालिका–३, का उज्जवल थापामगर, विशाल थापामगर र चितवन रत्ननगर नगरपालिका २ का सुशील श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फूयालले जानकारी दिए ।
पक्राउ गरेकालाई जिल्ला प्रहरी कार्यालयमा आइतबार सर्वजनिक गरिएको छ । उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक फूयालले बताए ।
ठगी गर्ने तीन युवकले उदयलाई २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको बताएका थिए । २५ लाख भारु चिठ्ठा परेको र त्यसवापत लाग्ने कर अग्रिम बुझाउनु पर्ने भन्दै ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेका तीनैजनामाथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

















