इटहरी । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकासित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ ।
पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपंक्षीलाई बद्ध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
विराटनगरका विभिन्न स्थानमा खुल्ला रूपमा माछा–मासु बिक्री गर्ने गरेको पाइएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको छ ।
मेयर नागेश कोइरालाका अनुसार महानगरले हाल सरसफाई, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङ लगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बद्ध गर्न निषेध गरिएको बताए ।
विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लास्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रूपमा माछामासु बिक्री गर्ने गरिएको छ ।