इटहरी । मोरङको पथरीशनिश्चरेमा सामूहिक कुटपिट भएको तीन महिनापछि एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कुटपिट गरी अचेत बनाएर सडकको किनारमा छाडिएका पथरीशनिश्चरे नगरपालिका ४ प्रगति टोलका ६२ वर्षीय टेकबहादुर थापाको बुधबार बिहान ५ बजेतिर मृत्यु भएको हो ।
थापालाई गत पुस २८ गते राति ३ जनाले कुटपिट गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकापरी दिएका थिए ।
प्रहरीका अनुसार ३ महिनासम्म उपचार गराउँदा पनि ठीक नभएपछि परिवारका सदस्यले गत मंगलबार घर फर्काएर लगेका थिए ।
स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेतर्फ लैजाने क्रममा बाटैमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न १ महिला र २ बालकसहित ३ जनालाई यसअघि नै पक्राउ गरेको थियो ।
पक्राउ परेर छुटेका उनीहरूलाई प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

















