वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जबाट नेपाली चलचित्र उद्योगले थुप्रै अवसर लिन सक्ने चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव नविन गिरीले बताएका छन् ।
चलचित्र पत्रकार संघ पर्सा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गिरीले आर्थिक एवम् औद्योगिक नगरीबाट नेपाली चलचित्र उद्योगले अपेक्षित फाइदा लिन नसकेकोमा चिन्ता व्यक्त गरे ।
उद्योग एवम् कलकारखानासँगै मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा परिचित वीरगञ्ज छायांकनसँगै चलचित्रको बजारका लागि उपयुक्त स्थान भएपनि निर्माता एवम् निर्देशकहरुको नजरमा नपरेको सचिव गिरीले बताए । गिरीले चलचित्र पत्रकार संघ पर्सा शाखा स्थापना भएसँगै संघका गतिविधिले वीरगञ्जमा पनि चलचित्रको बजार र गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
वीरगञ्जबाटै पत्रकारिताको शुभारम्भ गरेको स्मरण गर्दै गिरीले आफ्नो पूरानो कर्मथलोमै आउँदा संघबाट प्राप्त बधाई तथा शुभकामनाले आफुलाई थप काम गर्ने ऊर्जा मिलेको बताए । चलचित्र पत्रकार संघको केन्द्रमा सबै ऊर्जावान एवम् क्रियाशिल साथिहरु निर्वाचत भएको बताउँदै उनले यो कार्यकाललाई सबैले सम्झने योग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै शाखाहरुसँग समन्वय अभावका थुप्रै गुनासोहरु आएको बताउँदै उनले अहिलेको नयाँ कार्यसमितिले शाखालाई पनि सम्मानजनक व्यावहार गर्ने बताए ।
वीरगञ्जबाट पत्रकारिता शुरुवात गरेका गिरी काठमाडौंमा पुगेर चलचित्र विधामा स्थापित भई केन्द्रीय समितिको सचिवमा निर्वाचित भएकोमा भन्दै चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटेले खुशी व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ पर्सा शाखाको संगठन सुदृढीकरण र पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रबाट आवश्यक प्राविधिक लगायतका सहयोग गर्न पनि उनले सचिव गिरीलाई आग्रह गरेका छन् ।
चलचित्र पत्रकार संघ पर्सा शाखाका सचिव सूर्यनारायण वि.क.ले सचिव गिरीलाई टिका र खादासँगै मायाको चिनो र बधाई पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । साथै उनले वीरगञ्जमा चलचित्रको विकास र बजारीकरणका लागि संघले गर्ने क्रियाकलापमा केन्द्रको समन्वय र सहकार्य हुने अपेक्षा समेत गरेका छन् ।
सोही अवसरमा मध्यनेपाल मिडिया प्रा.ली.ले सचिव गिरीलाई स्वागत तथा सम्मान गरेको थियो । मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काले गिरीको लगनशिलता, ईमान्दारीता र निरन्तरताले अहिलेको उपलब्धी हाँसिल गर्न सफल भएको धारणा राखिन् । साथै गिरीलाई आफ्नै कार्यकालमा शाखा बिस्तारसँगै चलचित्रका गतिविधि बढाउन सुझाव दिएकी छन् ।