काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अव बन्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन्।
उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए।
गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरेका थिए । उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाए।
गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरेका थिए । उनले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए।

















