रामधुनी । सरकारले सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारको धारणा राखेका हुन् ।
मन्त्री कार्कीले देशको परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी मित्र राष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताए । ‘सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति मर्मअनुसार भारत चीन लगायत कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता छ’, उनले भने ।
सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थाप्रति आभारसमेत प्रकट गरेको छ ।
यस्तै मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्न सहज वातावरण निर्माण गर्ने सबै राजनीतिक दल, बुद्धिजीवीलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

















