रामधुनी । ‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की मातृशोक परेको छ । मंगलबार उनकी आमा दुर्गा मगरको निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
यसपछि, उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।
विक्की भारतको सिक्किम निवासी हुन् । यसैले, विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रभात लामाले जानकारी दिए ।
‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् ।

















