रामधुनी । ताप्लेजुङमा जिल्लामा रहेको पूर्वकै पवित्र शक्ति पीठ पाथीभरा दर्शनमा आज देखि खुल्ला गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले प्रेस विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखी स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने सर्तमा आम भक्तजनका लागि मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जनाएको छ ।
कोभिड–१९ को प्रभाव केही न्यून देखिएको तथा पाथीभरा दर्शनको सिजन समेत सुरु भएको अवस्थालाई ध्यानमा राख्दै मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना खुल्ला गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
काफ्लेले कोभिड–१९ को प्रभाव केही कम भए पनि जोखिम कायमै रहेको र सङ्क्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको भन्दै नेपाल सरकारद्धारा लागु गरिएका स्वास्थ्य सुरक्षाका सबै मापडण्डहरुको पालनामा भने तिर्थालुले ध्यान दिनै पर्ने बताए ।
कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरिएन्ट सँगै गत ५ महिना देखि पाथीभरा मन्दिरमा सार्वजनिक रूपले दर्शन,पूजा,ध्यान तथा प्रार्थनाको कार्य गर्न रोक लागाइएको थियो ।
तिर्थालु तथा भक्तजनले भौतिक दुरी कायम गर्ने,मास्क,स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्ने सहितका स्वास्थ्यका मापडण्ड अपनाएर मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न पाउने गरी आजबाट मन्दिर खुल्ला गरिएको काफ्लेले जानकारी दिए ।

















