काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएका छन् । उपाध्यक्ष सुमारसहितको टोली आइतबार बेलुकी स्वदेश फर्किएका हुन् ।
उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो । स्वदेश फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सुमारले सम्झौता संसदबाट अनुमोदन गर्न अत्यन्त जरुरी रहेको र छिटो अनुमोदन हुनेमा आफू आशावादी रहेको बताईन् ।
तर दलहरुबीच एकमत नहुँदा एमसीसी सम्झौता तत्काल अघि नबढ्ने सङ्केत देखिएको छ । सुमारसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र विपक्षीसँग छलफल गरेर मात्र सम्झौता अघि बढाउने बताए ।
सत्ता गठबन्धन दलभित्रै एमसीसीबारे समान धारणा बन्न सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेले सम्झौता अघि बढाउने या नबढाउने जिम्मा सरकारको भएको बताएको छ । सम्झौतामा सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट ५० अर्ब सहयोग प्राप्त हुने हुने उल्लेख छ । तर संसदबाट अनुमोदन भएपछि मात्र सम्झौता कार्यान्वयन हुनेछ ।

















