इटहरी । नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केटको रुपमा परिचित भाट भटेनीको इटहरी शाखाले सञ्चालनमा आएको ९ दिनमा ११ करोड व्यापार गरेको छ ।
गत भाद्र १९ गते शनिबार आफ्नो १९ औं स्टोरको रुपमा सुभारम्भ गरेको इटहरी शाखा आम नागरिकको रोजाइमा परिसकेको सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । उनले सञ्चालनमा आएको ९ दिन सम्ममा खाद्यान्न, रेडिमेड कपडा, किचन वेयर र इलेक्ट्रोनिक व्यापारबाट ११ करोड व्यापार भएको बताए ।

इटहरी १७ स्थित लबीपुरमा सञ्चालित शाखामा मानिसहरुको खचाखच देख्न सकिन्छ । भट्टराईले ग्राहकलाई दिएको सेवाकै कारण रोजाइमा पर्दै गएको बताएका छन् । सो शाखामा पूर्वमा झापादेखि विराटनगर, धरान हुँदै प्रदेश २ का जिल्लाहरुबाट समेत सेवाग्राहीहरु अवलोकन गर्न आउने गरेको भट्टराईले जानकारी दिए ।
भाटभटेनी अवलोकनमा आउँदा मानिसले केही न केही लगिहाल्छन् नि, हामीले शेवामूलक ढंगबाट संचालन गरिरहेका छौं किनभने भाटभटेनी यो स्तरसम्म आउनु सबै नागरिककै हातमा छ । उनले भाटभटेनीको यो साखामा सुन बाहेक मानिसको जीवनमा चाहिने सबै कुरा रहेको बताए ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गर्दा के हुँदैन भन्ने उदाहरण बनेको बताए । फलैचान्यूजसंग उनले आफूलाई भाटभटेनीको १९ औं स्टोरको उद्घाटन गरिरहदा गर्व लागेको बताए । नेपालमा केही हुँदैन भन्नेलाई पनि यो उदाहरण हुन्छ । उनले भने ।


भाटभटेनीले अहिले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ । ३५ कट्ठा जमिनमा भवन निर्माण सुरु गरेको भाटभटेनीले १८ महिना पछि सेवाग्राहीलई सेवा दिन सुरु गरेको हो । गतवर्षको पुसदेखि नै सेवा दिने उदेश्यका साथ काम गरिएकोमा कोभिड सङ्क्रमणका कारण ढिला भएको भट्टराईले बताए ।

सुपुर मार्केटको पहिलो तलामा किचनवेयर र बालबालिकाका खेलौनाका राखिएको छ । दोस्रो तलामा कपडा, जुत्ता राखिएको छ भने तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि राखिएको छ । त्यस्तै चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर रहेका छन् ।
फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन् । एक हलको दर्शक क्षमता ५ सय हुनेछ । त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेको छ । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ ।

हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ । यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिने भट्टराईले जानकारी दिए ।


















