रामधुनी । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।
स्मार्ट लाइसेन्स छपाइमा ढिलाइका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीले वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स प्रदान गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए। उनले अहिलेका लागि काठमाण्डौको एकान्तकुनामा रहेको कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरूमार्फत वितरण गरिने जानकारी दिए ।
उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६र७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए । भुसालले अबको एक/डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आए लगत्तै तीन शिफ्टमा काम गरेर भए पनि वितरण गर्ने बताए ।
विभागका प्रवक्ता डा। भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आगामी भदौ २० गतेदेखि सञ्चालन हुने जानकारी दिए । लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुसार परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिसकेको उनले बताए । उनले पहिलो चरणमा आवेदन दिएकाहरूका मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताए । नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने प्रवक्ता भुसालको भनाइ छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।

















