इटहरी । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् ।
आइतबार जारी संयुक्त विज्ञप्तिमा संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले जनस्वास्थ्यकर्मीहरु चिन्तित र मर्माहित भएको उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको उनीहरुले बताएका छन् ।
निर्वाचनको लामो प्रक्रिया आफैं कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिम रहेको भन्दै जनस्वास्थ्यकर्मीहरुले अन्य देशको उदाहरणबाट पनि सरकारले पाठ सिक्नुपर्ने बताएका छन् ।
निर्वाचन अघि खोप लाइन्छ
यता प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । वालुवाटारमा आयोजित कार्यक्रममा जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागिपरेको प्रधानमन्त्री ओलीको भनाई छ ।


















