इटहरी । हरेक वर्ष झैं वैशाख शुक्ल तृतीयाका दिन शुक्रबार पनि स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।
यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ ।
आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राहृमणलाई दान गरिन्छ । यस्तो घडामा ब्रहृमा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।
यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

















