१. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?
ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केही लक्षण मिलेमा, सङ्क्रमितसँग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ । समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ ।
आफू आइसोलेसनमा बसेमा परिवारलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ–के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ ।
यस पटक पिसिआर बाहेक छातीको एक्स–रे गर्नु पनि उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।
२. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका सङ्क्रमित भएका छन् कि छैनन् ?
खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा सङ्क्रमण हुन्छ । उनीहरूको सङ्क्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाए पनि गम्भीर हुनबाट बचाएको छ ।
३. के भिटामिनहरूले कोरोना ठिक गर्छन् ?
भिटामिन सी, डी र जिङ्क लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।
४. यान्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?
यान्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल सङ्क्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभाबी औषधि सेवन गर्नुहुँदैन ।
५. के जडीबुटी वा आयुर्वेद औषधिले कोभिड निको गर्छ ?
गर्दैन, सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलङ्का आदि देशमा भएका अनुसन्धानले पुष्टि पनि गरेका छन् ।
६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?
पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको । जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।
७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?
अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो ।
८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?
घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ । यति गर्दा पनि घटेन भने फोक्सोमा सङ्क्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटी वा एक्स–रे बाट फोक्सोमा निमोनिया वा सङ्क्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।
९. अस्पताल प्याक छन्, अब के गर्ने ?
सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फीभर क्लिनिकमा जाँच गराएपछि तपाइको अवस्था अनुरूप चिकित्सकले उपचारको व्यवस्था गर्छन् ।
१०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?
मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ । डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आए पनि डर मान्नुपर्दैन ।
११. सुत्केरी सङ्क्रमण भएमा बच्चालाई दूध चुसाउने कि नचुसाउने ?
सुत्केरीले मास्क लगाएर, बच्चाको विपरीत दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसँग सफा गरेर दूध चुसाउन मिल्छ । दूध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल÷ढोका खुला हुनुपर्छ ।
१२. यो महामारी कति खतरनाक छ ?
यस पटकको दोस्रो लहर धेरै सङ्क्रामक भए पनि मृत्युदर कम नै छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सङ्क्रमण हुँदैन । सङ्क्रमण भएमा स्वस्थ आहार, विहार र उपचारले खतराको अवस्था हुँदैन ।
१३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?
हुँदैन ! फोक्सोमा सङ्क्रमण÷निमोनिया÷पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसँगै अक्सिजन लिँदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ ।
१४. सामाजिक सञ्जालमा लेखेका वा अन्य निको भएका सङ्क्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?
नगर्ने, हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ । चिकित्सकको सल्लाह बिना औषधिको जथाभाबी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।
१५. कोभिडको उपचार के छ ?
कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अङ्गलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अङ्गलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।
१६. पोहोर सङ्क्रमण भएको व्यक्तिलाई अहिले सङ्क्रमण हुन्छ कि हुँदैन ?
मापदण्ड पालना नगरे सङ्क्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको सङ्क्रमणले गम्भीर बनाउन सक्छ ।
१७. कोभिड र खोपबारे फरक फरक धारणा छन् ? कसको कुरा पत्याउने ?
विभिन्न वैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र विज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका सङ्क्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने÷नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ ।
१८. लकडाउन किन, कति समय आवश्यक हुन्छ ? लकडाउन छोटो गराउन के गर्नुपर्छ ?
लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो । नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ । लकडाउन जति कडा भयो, सङ्क्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ ।
यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ । यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ । लकडाउनको अवधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको व्यवस्था गर्नुपर्दछ । अनुशासित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोटो गर्न सकिन्छ ।
१९. यो स्थिति कहिलेसम्म रहला ?
दोस्रो लहर अझै २–३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० प्रतिशत नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।
२०. महामारीमा आत्मबल कसरी बढाउने ?
यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेसागत तथा अन्य क्षेत्रमा नोक्सान पु¥याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् । अहिले जीवन रक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो ।
योग, ध्यान, प्रवचन श्रवण, सङ्गीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक ऊर्जामा स्थिर राख्न सकिन्छ । तनाव दिने खालका कुरा नसुन्ने÷नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिँड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन ।


buy ivermectin