सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनको निर्णय सँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् ।
सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ । त्यसै गरी मन्दिर, शक्ति पिठमा नित्य पुजा बाहेक गर्न नपाइने भनिएको छ । उसले मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजन किर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।
सुनसरी प्रशासनले यस पटकको तिहारमा देउसी र भैलो समेत खेल्न नपाइने जनाएको छ । कोरोना महामारीका कारण यस्तो निर्णय लिनु परेको सुनसरी प्रशासनले जनाएको छ । सुनसरी प्रशासनका अनुसार जिल्लामा निषेधाज्ञाको अवधि कात्तिक १ गते देखि मंसिर ६ गते सम्म रहने छ ।