‘ड्राइगन फ्रुट’ खेतीबाट यसरी उदाहरणीय बने कृपाश्वर (भिडियो सहित)

इटहरी । स्वदेशमै कृषि कर्म गरेर सफल र उदाहरणीय बन्दै गएका कृपाश्वर घले भन्छन्,‘काम गर्ने जोस, जाँगर, इच्छा र सहयोग हुनुपर्छ मानिस सफल हुन केही सोच्नु पर्दैन ।’ हुन त उनले पनि आफ्नो युवा अवस्था बन्दुक समाएर अर्काकै मुलुकमा युद्धका लागि तम्तयार रहेका थिए ।

खोटाङको केपिलासगढीमा जन्मिएका घले अहिले सुनसरीको तरहरामा परिवारसँगै बस्छन् । अहिले उनले रामधुनी ७ रानीपोखरीमा खोलेको ‘तर्जुमा ड्राइगन फ्रुट कृषि फर्मले कृषिप्रधान मुलुकमा कृषिबाटै समृद्ध बन्ने सपना साकार हुने तर्फ विश्वस्त भएका छन् ।

बिहान देखि बेलुकासम्म कृषि व्यवसायमा नै व्यस्त देखिन्छन् । रानीपोखरीमा रहेको करिब १० कट्ठा जग्गामा लगाएको सो फ्रुटको खेतीका कारण उनी फुर्सदिलो देखिँदैनन् । कुटो कोदालो नै उनको साथी बनेको छ । साथमा श्रीमतीले पनि आफ्नो क्षेत्रबाट सहयोग गरेकी छिन् ।गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको यो फलको खेती गर्न धेरै किसानहरू इच्छुक रहेका छन् । कृषिबाटै आफ्नो भविष्य देख्ने र उदाहरणीय काम गर्ने धेरै मानिसको जनजीवन परिवर्तन भएको छ । अर्कोतर्फ भनौँ यो फलको खेतीमा पूर्व मन्त्री लोकेन्द्र बिस्ट नै सक्रिय रहेका छन् ।

यो फर्मबाटै वार्षिक १५ लाखको आम्दानी गर्ने घले फलैचा न्यूजसंग भन्छन्,‘म अहिले १५ लाख हाराहारीमा आम्दानी गर्छु । यो फलको बोट जति धेरै विकाश भयो त्यति फल दिन्छ । ३ वर्ष हाराहारी भयो लगाएको यसको वृद्धि थप हुँदै छ । अर्कोतर्फ यो फल बारै काल फल्ने भएकाले आम्दानी २० लाख हाराहारीमा निकाल्ने सोच बनाएको छु । यसको बिरुवा पनि उस्तै बिक्री हुन्छ ।’

पछिल्लो समय फलको माग बढ्दो छ । अहिले त्यो बाटो भएर हिँड्ने प्रायः मानिस दङ्गै पर्छन्, फ्रूटको बारेमा जानकारी लिँदै केही किनेर पनि जान्छन् । त्यहाँ आयका स्थानीय पनि उनको उदाहरणीय कामको प्रशंसा गर्दछन् । बिरुवा फल लिएर पनि जान्छन् । स्थानीय दुर्गा राई भन्छिन्,‘यो फल स्वास्थ्यको लागि निकै फलदायी पनि रहेको छ । बजारमा जान अहिले समस्या भएकोले हामी खेतीमै आएर लैजाँदै छौँ ।’

यसको बोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्री मधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ । किलोमा ८ सयसम्ममा विक्री हुने यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठुलो सहयोग पुग्ने घलेको सुझाव पनि छ ।

घलेलाई कृषि क्रान्तिमा लागेर समृद्ध नेपाल बनाउनुपर्छ भन्ने नेताप्रति भने केही अविश्वास छ । स्थानीय स्तरका नेता अवलोकनमा आए पनि आशा भने नपलाएको गुनासो गर्छन् । उनलाई केन्द्रीय स्तरका नेता आएर अवलोकन गरे थप हौसला हुने हामीलाई बताए । उनले यो सरकार मात्रै नभएर कृषि प्रतिको दृष्टिकोणमा पहिलेदेखि नै नराम्रो भएको तर्क गरे । कृषि क्षेत्रमा बिचौलियाको हाबी रहेको उनको दाबी छ ।

घले थप्छन् ‘यहाँ सक्कली र नक्कली कृषक छन् । यो खेती मात्र नभएर कृषिको हरेक क्षेत्रमा क्षेत्रमा बिचौलियाको हाबी छ । यहाँ नक्कली कृषक नेताको हातमा हुन्छन् । सोझा साझा सक्कली हुन्छन् । उनीहरूको पहुँच नेतासँग हुँदैन । यो व्यवस्था तोडिनुप¥यो कृषकको र सरकार ‘नेता’ को सम्बन्ध ‘हर्ट टु हर्ट’ रहनुपर्छ । सोझा साझाले अनुदान नपाउने र पाउनेले कृषि नै नगर्ने यो परम्परा रहेको छ । यसलाई अन्त्य गर्नुपर्छ ।’

गुगल सर्च गर्दा यो फल करिब २० वर्षअघि नेपालमा भित्रिएको पाइन्छ । विश्वका अरू कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको छ । यो फलमा मानव शरीरमा रोगसँग लड्न सक्ने तत्त्व पाइने भएकाले पनि संसारमा यसको महत्त्व बढ्दै गएको छ । सरकारले कृषिमा सम्भावना खोज्नेहरूलाई सहयोग दिन सक्ने हो भने सानोतिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै नपर्ने घलेको भनाइ छ ।

प्रायः विदेशमा पाइने यो फल नेपालमा पछिल्लो समय खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । घलेकै फर्मबाट धेरै कृषि गर्न चाहनेले बिरुवा लगेका छन् र कृषि पेसा अँगालेका छन् । कोरोना महामारीसंगै एक अवसर मिलेको कृषि क्षेत्रमा चाहाना, अनुभव, प्रयोगले उदाहरणीय र सफल कृषकको पहिचान दिन सकिन्छ भन्ने उदाहरण उनले पेस गरेका छन् । साथमा कृषिप्रति आम नागरिक तथा सरकारी निकायकै सोच पनि परिवर्तन हुनु जरुरी छ ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here