इटहरी । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले वित्तीय कारोबारका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था बमोजिम किसान कल्याण बचत तथा ऋण सहकारी संस्था (साकोस) ले इजाजतपत्र प्राप्त गरेको छ।

प्राधिकरणले गत १० मंसिरदेखि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि अनलाइन अभिलेखीकरण प्रक्रिया सुरु गरेसँगै सहकारी दर्ता पोर्टलमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरेका संस्थाहरूलाई अनलाइन प्रणालीबाटै इजाजतपत्र जारी गर्ने व्यवस्था लागू गरेको छ। सोही व्यवस्था अन्तर्गत किसान कल्याण साकोसले आवश्यक सबै प्रक्रिया पूरा गरी इजाजतपत्र प्राप्त गरेको हो।
इटहरी–१६, सुनसरीमा मुख्य कार्यालय रहेको किसान कल्याण साकोस २०५३ सालमा स्थापना भएको सहकारी संस्था हो। हाल सहकारीका ८ वटा केन्द्र सञ्चालनमा रहेका छन्। सहकारीका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतका अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने १९ हजार ६ सय २४ जना सदस्य सहकारीमा आबद्ध छन्।
नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त भएसँगै सहकारीको वित्तीय अनुशासन, पारदर्शिता र विश्वसनीयता अझ सुदृढ हुने विश्वास गरिएको छ। साथै, यसले सदस्यहरूको बचत र लगानीलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको सहकारीले जनाएको छ।

















