धरान । “मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण आवश्यक छ” भन्ने मूल नारासहित सन् २०२५ अक्टोबर १९ का दिन मनाइएको बायो इथिक्स दिवस यस वर्ष विविध चेतनामूलक तथा प्रतियोगितात्मक कार्यक्रमसहित सम्पन्न भएको छ । नेपालभरका विभिन्न मेडिकल कलेजहरूको सहभागितामा आयोजना गरिएका कार्यक्रमहरूको समापन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको हो ।
नेपाल एकाईका प्रमुख तथा नेपालका लागि संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी संकायकी अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेकी थिइन । कार्यक्रममा प्रा.डा. शाक्यले बायोइथिक्सको १७औं सिद्धान्तको सन्दर्भमा बोल्दै वातावरण, पर्यावरण, जैव मण्डल र जैव विविधताको संरक्षण मानव जीवनको अस्तित्व र स्वास्थ्य विकाससँग प्रत्यक्ष जोडिएको बताए । उनले प्रत्येक व्यक्ति र संस्था आफ्नो स्तरबाट संरक्षणका प्रयासमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रा.डा. सरुन कोइरालाले चिकित्सा शिक्षा, डा. अशोक ऐरले दन्त चिकित्सा र खेमचन्द्र सुवेदीले नागरिक तथा कानूनी पक्षबारे प्रकाश पारेका थिए । विद्यार्थी समिप रेग्मीले यस वर्षको नारासम्बन्धी सेमिनार प्रस्तुति दिएका थिए ।
प्रतियोगितात्मक कार्यक्रममा पनि विद्यार्थीहरूबीच उत्साहपूर्ण प्रतिस्पर्धा देखिएको थियो । फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल दोस्रो र सुदिन भुषाल तेस्रो घोषित भए । आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य विजयी बने भने वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटा र कविता विधामा जीवन भुजेल पुरस्कृत भए ।
कार्यक्रमका संयोजक तथा मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्स सम्बन्धी अध्ययन, मन्थन र मननका कार्यक्रमहरूलाई अझ नियमित र बिस्तारित रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
विश्वभर सञ्जाल विस्तार गरेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ देखि संलग्न भएको हो भने सन् २०१६ देखि प्रत्येक वर्ष अक्टोबर १९ का दिन विश्व बायोइथिक्स दिवस मनाउने परम्परा सुरु गरिएको हो । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य तथा जीवन विज्ञान क्षेत्रमा नीतिशास्त्र (Ethics) सम्बन्धी शिक्षा, तालिम र अनुसन्धानलाई प्रवर्द्धन गर्दै आएको छ ।


















