लन्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेको आगामी अध्यक्ष पदका लागि तीन उम्मेदवार मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारीबीच एक जना साझा उम्मेदवारका रूपमा अघि बढ्ने सहमति जुटेको छ।
तीनै जना उम्मेदवारबीच आपसी सहमतिमा दुई जनाले उम्मेदवारी फिर्ता लिने र एक जनाले मात्र प्रतिस्पर्धा गर्ने सहमति भएको हो। यद्यपि, कसको नाममा अन्तिम सहमति हुने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको छ।
अध्यक्ष पदका लागि उनीहरुको साझा उम्मेदवारले राजेन्द्र पुडासैनीसँग प्रतिस्पर्धा गर्नेछन्। निर्वाचन समितिले सोमबार प्रकाशित गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ – राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारी।
उपाध्यक्ष ५ जना उम्मेदवार, महासचिव २ जना उम्मेदवार, सचिव ३ जना उम्मेदवार (२ पदका लागि) कार्यसमिति सदस्यमा ११ जना निर्विरोध चयन भएका छन् ।महिला र युवा संयोजक लगायत विभिन्न पदमा धेरै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
एनआरएनए यूकेको निर्वाचन जुलाई २६ मा अनलाइन प्रणालीमार्फत हुनेछ। उम्मेदवारी फिर्ताको अन्तिम समय मंगलबार साँझ ७ बजेसम्म छ भने अन्तिम नामावली बुधबार साँझ ५ बजे सार्वजनिक गरिने बताइएको छ । मतदाताको संख्या ३,५०१ जना रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिको नेतृत्व रामशरण सिम्खडाले गरिरहेका छन् भने सदस्य सचिव श्याम लुईंटेल र अन्य सदस्यहरूमा राजन खकुराल, विमल गुरुङ र विक्रम भट्टराई छन्।

















