इटहरी । विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ४ का २७ वर्षीय गोविन्द राई, विराटनगर २ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, विराटनगर ९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजवंशी, कटहरी गाउँपालिका २ निवासी ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र सिराहा कल्याणपुर नगरपालिका १२ का ३८ निर्मला यादव छन् ।
अस्पतालबाटै गायब भएको नवजात शिशु ७ लाख खर्च गरेर आफूले पाएको दिलमाया राजवंशीले प्रहरीलाई बयान दिएकी छन् । अविवाहित जोडीबाट जन्म भएको नवजात शिशु डा. तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताएकी हुन् ।
मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीले शिशु लगेको पुष्टि भएको हो । विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्च गरेको बयान दिएकी हुन् ।
नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ ।

















