विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रहेको बताए। उनले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा दुवै देशबीच मुख्य सहकार्य भइरहेको जानकारी दिँदै नेपालीहरू इजरायलमा मुख्यतया कृषि र केयरगिभर क्षेत्रमा कार्यरत रहेको र यसलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्। उनले कृषि उत्पादनको दृष्टिले कोशी प्रदेशमा प्रचुर सम्भावना रहेको र युवालाई कृषि उद्यमशीलतामा प्रेरित गर्न प्रदेश सरकारले ब्याज अनुदान दिने व्यवस्था गरेको जानकारी दिए।
उनले इजरायली कृषि प्रविधि उपयोगी हुने उल्लेख गर्दै कृषकलाई तालिम र युवालाई उद्यमशीलतामा प्रेरित गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए। साथै, नेपाली युवा बिपिन जोशीको रिहाईका लागि पहल गर्न आग्रह गरेका छन ।
इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायलको सम्बन्ध पुरानो र गाढा रहेको उल्लेख गर्दै, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि सम्बन्ध सुमधुर रहेको स्मरण गराउँदै कृषि र केयरगिभर क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको र सहकार्यको लागि तयार रहेको जानकारी दिएका छन्।


















