इटहरी / पूर्वेली लोकगायिका अञ्जु गौतमले म्युजिक नेपालमाथि आफ्ना मौलिक गीतहरूमा अनावश्यक ‘कपिराइट’ विवाद खडा गरेको आरोप लगाएकी छिन्। उनका अनुसार, लैबरी माया, पानी पर्यो झमझम र माला लाउनु फुलैको गाँसेर जस्ता लोकप्रिय गीतहरू युट्युबबाट अनुचित रूपमा ब्लक गरिएको छ।
बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनले म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको पहलमा गीत ब्लक गरिएको दाबी गरिन्। “यी भाकाहरू अरू कुनै लोकधुनसँग मेल खाँदैनन् भन्ने प्रमाणसहित देखाउन सक्छु,” उनले भनिन्, “तर कपिराइटको नाममा ब्लक गर्नु कलाकारलाई मानसिक र आर्थिक रूपमा पीडित बनाउने काम हो।”
गौतमले ब्लक हटाउन आग्रह गर्दा समेत धम्की र दबाबको सामना गर्नुपरेको अनुभव सुनाइन्। प्रतिलिपि अधिकार ऐन २०५९ ले मौलिक सिर्जनालाई सुरक्षा गर्ने तर लोक भाका आत्मसात् गरेर सिर्जना गर्ने अधिकार खुला रहेको उल्लेख गर्दै आफ्ना गीत मौलिक परम्परामै आधारित भएको बताइन्।
दुई दशकदेखि सक्रिय गौतमले ३ सयभन्दा बढी लोकगीत गाइसकेकी छिन्। तर चर्चित गीत ब्लक भएपछि आफू आर्थिक र मानसिक दुवै असरमा परेको भन्दै अब कानुनी बाटो रोज्ने चेतावनी दिएकी छिन्।
नेपालमा पछिल्ला वर्षमा युट्युबजस्ता डिजिटल प्लेटफर्ममा कपिराइट विवाद बढ्दै गएको छ। विशेषगरी लोकगीतमा भाका मिल्ने भएकाले समस्या चर्किँदै आएको कलाकारहरूको भनाइ छ।


















