इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभाका सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ठाकुरसहित १७ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
धनुषा क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित ठाकुर एमाले सांसद हुन् । अख्तियारले मुद्दा दायर भएका सबैसँग ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
धनुषाको औरही गाँउपालिकाले १५ शय्याको अस्पताल बनाउनका लागि २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेकोमा १२ करोड ३५ लाखको प्रस्ताव पेश गर्ने प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभीलाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाखको प्रस्ताव पेश गर्ने लुम्बिनी, डीएण्डएन जेभीलाई छनोट गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमितकुमार यादव, गङ्गाप्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिपकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले गाउँपालिकाका इन्जिनियरहरू सोनु साह, सन्तोषकुमार मण्डल, बिनितकुमार साह, खरिदारहरू मोहनकुमार मण्डल, मनोजकुमार यादवमाथि पनि मुद्दा दायर गरेको छ ।