इटहरी । नवीन श्रेष्ठको ‘लाज शरणम्’ फिल्म नेपाली सिनेमा क्षेत्रमा एउटा ऐतिहासिक परिवर्तनको प्रतीक बन्न सक्ने विश्वास गरिएको छ । उनले फिल्म उद्योगको भविष्यमा एउटा नयाँ धारा सुरु गर्ने दृढ संकल्पका साथ यो फिल्म निर्माण गरेका छन्।
उनका शब्दमा, विदेशी फिल्महरूले नेपालबाट पैसा कमाइरहेका छन्, त्यसैले अब नेपाली फिल्महरूले पनि अन्तर्राष्ट्रिय बजारबाट डलर भित्र्याउनु पर्छ। यसै सोचका साथ, उनले फिल्मको गुणस्तरलाई प्राथमिकता दिइरहेका छन्, जसले नेपाली फिल्म उद्योगलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउन मद्यत गर्छ ।
नवीन श्रेष्ठले फिल्मको निर्माणमा कुनै प्रकारको सम्झौता नगरी, पूर्ण बजेट, लोकेसन र समयमा कुनै पनि कमी नगरेको बताएका छन्। उनका अनुसार, यो फिल्मको सफलता यसको टिम र कलाकारहरूको अथक मेहनत र समर्पणको परिणाम हो। यसै कारण उनले यसमा लगानी गर्न निर्णय गरेको बताएका छन् । फिल्मका प्रमुख कलाकार सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, र सागर लम्साल जस्ता चर्चित नामहरू छन्, जसले फिल्मलाई अझ बलियो बनाएका छन्।
‘लाज शरणम्’ अब सेन्सर बोर्डबाट पास भइसकेको छ र महाशिवरात्रिको अवसरमा रिलिजको लागि तयारी अवस्थामा छ। यस फिल्मको प्रदर्शनले नेपाली सिनेमा र फिल्म उद्योगको भविष्यमा नयाँ सम्भावनाहरू खोल्ने आशा निर्माण यूनिट र दर्शकले गरेका छन्। यसको गुणस्तर र सन्देशले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मद्यत पुग्छ ।
नवीन श्रेष्ठले यस फिल्ममार्फत रियलस्टेट र अन्य व्यापारमा आएको मन्दीका बाबजुद, फिल्म उद्योगलाई समृद्धि दिने उद्देश्यमा काम गरेका छन्। उनका अनुसार, फिल्म उद्योग नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश बन्न सक्छ र यसले नयाँ रोजगार र सम्भावनाहरू सिर्जना गर्न टेवा पुर्याउछ।