इटहरी। फिल्म ‘ताण्डवम्’लाई शुक्रबार प्रदर्शन हुने बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको हिंसात्मक दृश्य कटाउँदै प्रदर्शन अनुमति दिएको हो ।
फिल्ममा समावेश सबै हिंसात्मक दृश्य काटेर समितिले पीजी सर्टिफिकेट दिइएको छ । फिल्मले ब्यापक काँटछाँट सहित प्रदर्शन अनुमति पाएको निर्देशक जुनिम गहतराजले जानकारी दिए ।
फिल्मले प्रदर्शनको अनुमती पाएसँगै अव १६ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको साथमा हेर्न पाउने भएका छन् । फिल्मको टाइम अव १ घण्टा ५६ मिनेट तय छ । यसअघि २ घण्टा ६ मिनेटको टाइम थियो ।
फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको लगयतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मले एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा हुने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई प्रस्तुत गर्छ ।
सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । फिल्मालाई धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।