इटहरी । नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन्स लिमिटेडले आगामी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजकको रूपमा आफूलाई प्रस्तुत गरेको छ। यही फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्दै छन् ।
मंगलबार आयोजित विशेष कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गर्ने ब्रान्ड डिजिटल लजिक प्रा.लि. बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भायानेटले यो प्रायोजनलाई नेपाली फुटबलको विकासमा सकारात्मक प्रभाव पार्ने एक महत्वपूर्ण कदमको रूपमा लिएको छ।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले प्रायोजनको महत्त्व बारे कुरा गर्दै भने, खेलकुद, मनोरञ्जन र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन् जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ, र हामी यस अवसरलाई हाम्रो व्यवसायलाई अझ बलियो बनाउनको लागि उपयोग गर्न चाहन्छौं। नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको उत्साहजनक माया हाम्रो लागि प्रेरणादायक छ।
उनले थपे, महिला फुटबलको विकासमा योगदान दिन पाउँदा हामी गर्व महसुस गर्दैछौं। फुटबल राष्ट्रको उन्नतिको महत्वपूर्ण आधार हो र हामी महिला फुटबललाई अझ सशक्त बनाउने प्रयासमा जोड दिनेछौं।
भायानेटले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। कम्पनीका अनुसार, यो प्रायोजन केवल व्यापारिक लाभको लागि मात्र नभई, नेपाली महिला फुटबलको प्रगति र प्रतिस्पर्धात्मक स्तरमा सुधार ल्याउन पनि एक ठूलो योगदान हो। महिला फुटबललाई थप प्रोत्साहन दिनु, भायानेटको सामाजिक जिम्मेवारीको एक हिस्सा हो र यसले फुटबलको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यस प्रायोजनसँगै, भायानेटले आफ्नो सामाजिक जिम्मेवारी निभाउँदै, महिला फुटबललाई सशक्त बनाउने प्रयासलाई साकार गर्न प्रतिबद्ध रहेको जनाएको छ। यस प्रायोजनको माध्यमबाट कम्पनीले फुटबलको भविष्यमा थप सम्भावनाहरू सिर्जना गर्न र महिला खेलकुदलाई थप प्रोत्साहन दिन चाहन्छ। यस प्रायोजनले नेपाली फुटबलमा नयाँ उत्साह र प्रेरणा ल्याउने विश्वास पनि गरिएको छ।

















