इटहरी । यही पुस ६ गतेदेखि सुरु हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको आयोजकले बताएको छ । मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनबारे जानकारी गराइएको हो । इटहरी जेसीजको आतिथ्यतामा हुन गइरहेको महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुनेछन् ।
महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन सम्पन्न हुने छ ।
महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभावकत्व ग्रहण गरेको छ भने इटहरी उपमहानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए । महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटेलको व्यवस्थापन गरिएको उनको भनाइ छ ।