गोपाल तिम्सिना/ इटहरी। नागरिक ऐन २०६३ अनुसार ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक मानिन्छ। यी वृद्धवृद्धा केवल हाम्रो समाजका अगुवा मात्र होइन, उनीहरू हाम्रो संस्कृतिको जिवन्त गहिराइ पनि हुन्। आजका बालबालिका पनि भोलिका ज्येष्ठ नागरिक हुन्, तिनीहरूलाई अपमान नगरी सम्मान दिनु हाम्रो दायित्व हो। तर, दुःखद् कुरा यो हो कि समाजमा ज्येष्ठ नागरिकलाई समस्याको रूपमा देख्ने प्रवृत्ति हाबी भएको छ, जसका कारण वृद्धवृद्धाले अपमान भोग्नुपरेको छ।
सहरीकरण, औद्योगिकीकरण, र व्यस्त जीवनशैलीले गर्दा परिवारका सदस्यहरू एउटै छानामुनि बस्न कठिन हुँदै गएको छ। आधुनिक जीवनको चपेटामा पारिवारिक सम्बन्धहरू कमजोर भइरहेको छन्, र यसका कारण नयाँ पुस्ताले पुरानो पुस्ताबाट आवश्यक ज्ञान, अनुभव, र संस्कार पाउन गाह्रो भइरहेको छ। अति व्यस्तताका कारण परिवारका धेरै सदस्यहरू घरबाट टाढा रहनु परेको छ, जसले गर्दा वृद्धवृद्धालाई एक्लोपना र निसंगतताको अनुभव गराउँछ।
यो स्थिति त्यति मात्र नभई, केही वृद्धवृद्धाले वृद्धाश्रममा बस्नुपर्ने बाध्यताको सामना पनि गरिरहेका छन्। यसले हाम्रो सामाजिक संरचनामा गम्भीर प्रश्न उठाउँछ। हाम्रो देशका वृद्धवृद्धाले विभिन्न समस्याहरू भोगिरहेका छन्। एउटा भनाइ छ, ूएक अभिभावकले १० सन्तानको हेरचाह गर्न सक्छ, तर १० सन्तानले मिलेर पनि आफ्ना बाबु आमा राम्रोसँग हेरचाह गर्न सक्दैनन्।ू यो व्यक्तिवादी प्रवृत्तिको तितो परिणाम हो।
आजको एकल परिवारको जीवनशैलीले वृद्धवृद्धाप्रति सन्ततिको जिम्मेवारीको भावना घटाउँदै गएको छ। परम्परागत परिवारमा सँगै बस्ने चलनमा कमी आएकोले वृद्धवृद्धाहरूको जीवनमा दुःख र हीन्नताबोधको अनुभव बढिरहेको छ। यसका साथै, वृद्धवृद्धाहरूको स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दै गएको छ।
हाम्रो दायित्व हो कि हामीले वृद्धवृद्धाको हकहित सुरक्षित गर्न र उनीहरूलाई मृत्यु पर्यन्त सम्मान प्रदान गर्न कानुनी व्यवस्था गर्नुपर्छ। आजको हृदयमा भएका अपमान र उपेक्षा तिर फर्केर हेरौं, किनकि हामी आज जे छौँ, ती अग्रजहरूको कारण हो। वृद्धावस्थामा पुग्न कुनै पनि व्यक्तिलाई सजग रहनु आवश्यक छ, किनकि आजका युवा भविष्यका वृद्ध हुन्।
यसैले, जेष्ठ नागरिकका हकहितको ग्यारेन्टी गर्न र सम्मानपूर्वक बाँच्न पाउने वातावरण तयार गर्नु अत्यन्त आवश्यक छ। समाजले वृद्धवृद्धाप्रति दृष्टिकोण परिवर्तन गर्दै जानु र तिनको योगदानलाई मान्यता दिनु पर्छ। यो केवल समाजको नैतिक दायित्व मात्र होइन, हामी सबैको जीवनको आधार पनि हो। जेष्ठ नागरिकलाई सम्मान र माया दिने वातावरणमा हामीले आत्मनिर्भर र सशक्त समाजको निर्माण गर्न सक्छौं।