- गोपाल तिम्सिना
अहिले लाखौँ युवाहरूले नेपाल छोडिरहेका छन् । उनीहरूलाई आफ्नो भविष्य नेपाल भन्दा बाहिर नै सुनिश्चित हुन्छ भन्ने भान भएको छ । जसले गर्दा उनीहरूले विशेष गरी विकसित मुलुकमा जानका लागि अनेक उपायहरू अपनाइरहेका छन् ।
राजनीति भनेको राज्यको नीति अर्थात् राज्यका सबै प्रकारको नीतिगत व्यवस्थापन हो । युवा वर्गको राजनीतिक चेतमा कमी भयो भने देशको बागडोर समाल्ने जिम्मा देशमा कहलिएका नामुद माफिया,दलाली र पुँजीपतिको हातमा पुग्दछ । नेपालको सन्दर्भमा हेर्ने हो भने राजनैतिक चेतको कमी भएका सायदै कम्ती मानिस होलान् कोही सक्रिय राजनीतिमा छन् त कोही बहिरै बसेर आफ्नू बलबुताले भ्याएसम्मको सहयोग गर्दै आइरहेका छन् ।
तर पनि देशको अवस्था दिनप्रतिदिन बिग्रँदो छ । राज्यको यो अवस्थाबाट चिन्तित हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । सोही अवस्थाका कारण थुप्रै नेपाली देशबाटै विस्थापित पनि भइरहेका छन् । २०७९ सालमा सम्पन्न भएको तीनै तहको निर्वाचनमा युवाको पनि सहभागिता उल्लेख्य रूपमा भएको थियो । तसर्थ, योग्य सक्षम र उद्यमशील युवा नै देश विकासका आधार हुन् भन्ने यथार्थता साँच्चिकै पुरा हुने सपना देखेका आम नेपाली फेरि पनि उहीँ निराशाको मरुभूमिमा रुमलिन बाध्य बने । घुमिफिरी तिनै ७० काटेका वृद्धहरूले देशको शासन सञ्चालनको बागडोर लिनु भनेको नव युवाको अस्तित्व पाका नेतृत्वले नस्विकार्नु हो ।
मानव सभ्यतामा एक ठाउँ बाट अर्को ठाउँमा पलायन हुनु एक सामान्य प्रक्रिया हो । अहिले लाखौँ युवाहरूले नेपाल छोडिरहेका छन् । उनीहरूलाई आफ्नो भविष्य नेपाल भन्दा बाहिर नै सुनिश्चित हुन्छ भन्ने भान भएको छ । जसले गर्दा उनीहरूले विशेष गरी विकसित मुलुकमा जानका लागि अनेक उपायहरू अपनाइरहेका छन् । नेपालबाट विशेष गरी शिक्षा, काम र भ्रमणको नाममा बर्सेनि लाखौँ युवाहरू विदेशी रहेका छन् । त्यति मात्र नभएर त्यसमध्ये ठुलो सङ्ख्यामा युवाहरूले सधैँका लागि देश नै छाडेर अन्य मुलुक जान खोजेको पनि देखिन्छ ।
नेपालबाट दुई कारणले मानिसहरू बिदेसिने गरेका छन् । पहिलो रोजगारी र अनि अर्को शिक्षा । नेपालीहरू अध्ययनका लागि बिदेसिने क्रम त पहिले राणा शासनकै बेला देखिनै सुरु भएको हो । पहिला पनि सरकारले नै प्राविधिक शिक्षाका लागि केही नागरिकलाई विदेश पढ्न पठाउँथ्यो । त्यो बेला नेपालीहरू बनारस, बेलायत लगायतका ठाउँमा गएर पढ्ने गरेको इतिहास पनि सयौँ वर्ष अगाडिदेखि देख्न सकिन्छ । तर, अहिले ठुलो सङ्ख्यामा रोजगारीका लागि जान थालेको त सुगौली सन्धि भन्दा पछाडि देखि मात्रै देखिएको छ । सयौँ वर्ष पहिला भएको विश्वयुद्धमा पनि नेपाली आयआर्जनका लागि निकै ठुलो सङ्ख्यामा विदेश गएका थिए र त्यहाँ बाट वीर गोर्खाली भनेर सन्सार सामु पनि चिनिएका थिए ।
विकसित मुलुकमा अध्ययनको लागि भनेर गएका लाखौँ युवाहरूले अहिले सोही देशमा नै पारिवारिक जीवन बिताउन थालेका छन् । त्यति मात्र नभएर अहिले पछिल्लो समयमा ठुलो सङ्ख्याका युवाहरूले भिजिट तथा आजाद भिसाको प्रक्रियाबाट विकसित मुलुक प्रवेश गरिरहेका छन् । उनीहरूको सो प्रवेश पनि ती मुलुकमा आफू र आफ्ना परिवारका सदस्य को निम्ति स्थायी बसोबासको प्रक्रियाको लागिनै रहेको छ ।
राजनीतिक दल, उच्च ओहदामा रहेका कर्मचारी समाजसेवी, सामाजिक अभियन्ता, सामाजिक अगुवा आदिले सृजना गरेको कुसंस्कार र कु संस्कृतिलाई तिलाञ्जली दिन सक्नु पर्छ ।
नयाँ पुस्ताका नागरिक स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको धेरै कुरा जस्तै राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी छ भनेर बुझ्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ । विभिन्न व्यक्तिमा भएको रवैया जस्तै राजनीतिज्ञ, कर्मचारी, समाजसेवी, सामाजिक अभियन्ता, सामाजिक अगुवा आदिले आफूमा भएको रवैयामा सुधार गरी युवापुस्ताको मानसपटलमा आशाको किरण जगाउन नसकुन्जेल सम्म यो प्रक्रिया रोकिने अवस्थामा छैन । यसका निमित्त राजनीतिक दल, उच्च ओहदामा रहेका कर्मचारी समाजसेवी, सामाजिक अभियन्ता, सामाजिक अगुवा आदिले सृजना गरेको कुसंस्कार र कु संस्कृतिलाई तिलाञ्जली दिन सक्नु पर्छ ।
नेपाली स्थायी रूपमा ठुलो सङ्ख्यामा विदेश जाने वा लगातार दसकौंसम्म रोजगारीका लागि जनसङ्ख्याको ठुलो हिस्सा विदेशमा बस्ने कुरा चाहिँ अहिले सामान्य कुरा जस्तो भएको छ । नेपालमा भएको १० बर्से माओवादी विद्रोह सँगै रोजगारीका लागि विदेश जानेको लर्को बढ्न थालेको हो । देशको पछिल्लो अवस्थाका कारण कतिपय नेपालीहरूले त विकसित मुलुक जानको लागि गैर कानुनी बाटोको यात्रा गर्दै आफ्नै जीवनलाई जोखिममा समेत पु¥याएको समाचारहरू पनि समय–समयमा सुनिन्छन् ।
दलहरूको आन्तरिक खिचातानीमा मुलुकको भविष्य बरबाद भइरहेको छ । देशको प्राय सबै क्षेत्रमा भयावह स्थितिको सृजना भैसकेको छ । सानुतिनु ब्यपार व्यवसाय गरेर बसेका व्यवसायीहरू समेत विस्थापित हुनु पर्ने अवस्थाको सृजना भैसकेको छ त्यस्तै दक्ष जनशक्तिले आफ्नो क्षमता अनुसारको अवसर नपाएर भौँतारिनु पर्ने अवस्था छ । पाएको अवसरले परिबारिक समस्याको हल गर्न गाह्रो पर्ने भैसकेको छ । अनेक कुरामा महँगी, साथै मन्दीको मार समेत उत्तिकै छ । यही कारणले गर्दा हाम्रो देश विदेशीलाई सस्ता कामदार उपलब्ध गराउने कारखानाको रूपमा परिवर्तन हुँदै छ ।
पढेका र दक्ष भनिएका जति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्न सक्ने र अनपढ जति खाडी मुलुकलाई पठाएर देशमा समृद्धि आउने आसामा लाखौँ बाबुआमा आफ्नू जन्मभूमि रुङेर बसिहेरेछ । अब समयमै युवामा भएको जोस जाँगर, सिप, क्षमता तथा उनीहरूको सोचाइको साथ अघि बढिएन भने पक्कै पनि भोलिको नयाँ पुस्ताले अहिले को युवापुस्ता लाई सराप्ने छ ।