- गोपाल तिम्सिना
नेपाली नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै छ । तीजको रौनक गाउँ घर तथा समाजमा देखिन थालिसकेको छ । पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र धारण गरी कठोर तपस्या गरी पूजा गरेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो त्यसै दिन देखि आजसम्म विवाहित हिन्दु नारीहरूले पनि आफ्नो श्रीमानको दीर्घायुको कामना सहित व्रत बस्ने गर्दछन् भने अविवाहित चेलीहरूले राम्रो श्रीमान् पाउँ भनी व्रत बसी यो पर्व मनाउँदै आएका छन् ।
तीज नेपाली महिलाहरुको महत्त्वपूर्ण चाड हो । तीज नेपालमा मात्र नभएर भारतवर्षका विभिन्न स्थान तथा नेपाली मूलका मानिस बसोबास गर्ने विश्वका धेरै देशमा मनाउने गरिन्छ । यसलाई हर्षोल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा पनि हो । आजभन्दा १५–२० वर्ष पहिलेसम्म गाउँघरमा वरपरका सबै महिला दिदीबहिनी एकै स्थानमा भेला भएर तथा टाढा पराइ घर गएका चेली हरूलाई माइतीले आफै लिन गएर आफ्नो हैसियत अनुसारको परिकार बनाएर चेलीबेटी खुवाउने र घरका आमा दिदी बहिनी भाउजू नन्द बुहारी सबै मिलेर भाका मिलाएर दुख सुख बाँड्दै तीज मनाउने गरिन्थ्यो । माइती ले दिएको चुरा धागो कपडा लगाएर आँगनमा रातो सारी लगाएर ढल्की ढल्की नाच्ने र एक दिन भए पनि घरको चिन्ता नलिईकन खुसीले रमाउँदै आपसी सद्भाव साटेर मनाउने चाडलाई तीज भनिन्थ्यो ।
तर, अहिले तीजको परिभाषा पनि फेरिएको छ । आजभोलि आफ्नै मौलिक स्वभाव बिर्सेर आयातित संस्कारको अनुकरणमा सुख खोज्ने कार्यहरू भइरहेको छ । जसले गर्दा परापूर्व कालदेखि मान्दै आएका धर्म संस्कृति चालचलन, रीतिरिवाज लोप हुँदै गइरहेको स्पष्ट देख्न सकिन्छ । जसको प्रतिफल स्वरूप तीजमा पनि उच्छृङ्खलता, तडकभडक तथा देखासिकीपन बढ्दै गएको छ । तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले पर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तडकभडक र विकृतिपन बढ्दै गएको पाइन्छ । परिवर्तनशील समय र समयको माग अनुसार हरेक क्रियाकलाप र गरिने व्यवहारमा परिवर्तन हुनु स्वाभाविक नै हो ।
तर, कतिपय धर्म, संस्कृति र परम्पराहरू निभाउने क्रममा कतै अलमलिएर आफ्नो रीतिरिवाजलाई विसङ्गति र विकृतितर्फ धकेल्नुलाई धर्म र संस्कृतिको जगेर्ना गर्न नसकेको भनेर बुझ्न सकिन्छ । पहिले पहिले तीजमा नारीका अन्तर हृदय भएका वेदनाहरू प्रस्फुटन हुने गर्दथे । जहाँ वास्तविक उत्पीडनमा परेका कथाहरू सुन्न पाइन्थ्यो । कोमल हृदय हुनेहरूका आँखासमेत रसाउँथे । वर्ष दिनमा एक पटक आउने विशेष गरी महिलाहरूको महत्त्वपूर्ण पर्व तीज र महिला एक अर्काका पर्यायवाची जस्तै भएकै कारण होला दुई दिन मनाउने तीजलाई हाल आएर महिनौँ अगाडीदेखि मनाउन थालिएको छ ।
विभिन्न सङ्घसंस्था, समूह, छरछिमेक आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् त्यो पनि महिनौँ अगाडिदेखि । तीज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक विकृतिको रूपमा बढ्दै गएको छ । यो क्रम अझै निरन्तर बढ्दो छ ।
पवित्र चाड तीजलाई आधुनिकताको नाममा, परिवर्तनको बहाना, सस्तो लोकप्रियता, विकृति बिसगती र यौन स्वच्छन्दताको सिकार बनाइँदै छ । “तीज आयो दिदी लिन जाने हैन र….. ?, तीज आयो जाउबाबु दिदी लिनलाई…….।, यो मनको विरहले आउँछ छाती पोलेर ……..।, बिदा माग ज्वाइँसङ २/४ दिनलाई……..। जस्ता वेदना, खुसी , उमंग, निरास मिसिएका कर्णपृय भाका सुन्दै हुर्किएका हामीलाई अहिले निस्किएका तीजका गीत “सिराने ले घोच्यो बिस्ताराले पोल्यो ……..।, बारुलाले डस्यो…… ।, तिन महिने सुई लाउँछे …….।, बिहे अघि दिन्न बरिलै ……..।, बालेन जस्तो पाए पैला गइदिन्थे……..। सम्मको उचाई छुइसकेको छ । थाहा छैन अब यो गतिले कुन उचाइ सम्म छुने हो ?
सम्पन्न परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तीजको दर खाने खुवाउने चलन चलाए तर अहिले त्यो परम्परा जस्तै भएको छ । अहिले एक महिना अगाडीदेखि पार्टी प्यालेसमा तीजको दर खाने र खुवाउनेको भिडभाड हुने गरेको पाइन्छ । विभिन्न सङ्घसंस्था, समूह, छरछिमेक आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् त्यो पनि महिनौँ अगाडिदेखि । तीज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक विकृतिको रूपमा बढ्दै गएको छ । यो क्रम अझै निरन्तर बढ्दो छ ।
तीजलाई कतिपय दिदी बहिनीहरुले आफूसँग भएका गरगहना देखाउने पर्वका रूपमा पनि लिने गरेको जस्तो देखिन्छ । जसले गर्दा मध्यम र न्यून आय भएकाहरूका लागी यो तीज निल्नु न ओकल्नु भएको छ । जसले गर्दा कतिपय दिदिबहिनीहरुका लागी पहिले पहिले तीज कहिले आउला र माइत गएर रमाइलो गरौँला, आफ्ना मनका वेदना गीत मार्फत पोखौँला भन्ने हुन्थ्यो तर अहिले आएर यो पर्व नआए पनि हुन्थ्यो भन्ने जस्तो पनि भएको छ । गाईजात्रामा हास्यकलाकारहरुले व्यङ्ग गर्ने गरेका विषय बस्तु अहिले तीजमै देख्न सुन्न पाइन्छ ।
तीजमा महिला आफूलाई अरू सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गरेको पनि पाइन्छ । तर तीजलाई संस्कृति सँग जोड्न अरूको देखासिका गर्ने परिपाटी को अन्त्य हुनु जरुरी छ ।
तीजमा दर ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । अघिल्लो दिन मध्यरात १२ बजेअघि दर खाने चलन हराइसकेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ । जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढवा पाएको छ । जन्मदिन मनाएर केक काटेको देखि लिएर कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमे डुलेको लगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ । जसले हरेक अवसरमा उत्सव गर्नै पर्ने र त्यसो गरेपछि अरूलाई देखाउनै पर्ने एक प्रकारको होडबाजी सिर्जना गरेको छ भने यस्ता उत्सव गर्न र देखाउन नसक्नेहरूमा अलिकति लघुताभास पनि गराएको पाइन्छ । अरूलाई देखाउनै पर्ने मानसिकता र हुललाई पछ्याउने बानी आदि समाजमा देखावटीले जरा गाड्ने मूल कारणहरू बनेका छन् ।
दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै जाँदा नयाँ पिँढीका धेरै जसो महिला पनि चिन्तित छन् । तीज गीतमा मौलिकता खोज्नेहरूलाई यसले निराश बनाएको छ। तीजमा महिला आफूलाई अरू सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गरेको पनि पाइन्छ । तर तीजलाई संस्कृति सँग जोड्न अरूको देखासिका गर्ने परिपाटी को अन्त्य हुनु जरुरी छ ।