इटहरी। सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् । एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् ।
रोनाल्डोले युट्युब च्यानल खोलेपछि रेकर्डै रेकर्ड
युट्युबमा यूआर क्रिस्टियानो नामको च्यानल खोल्नेबित्तिकै उनका प्रशंसकहरू उत्साहित देखिएका छन् । च्यानल खोलेपछि सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुर्याउने रोनाल्डो पहिलो व्यक्ति भएका छन् । उनले च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए ।
४ घण्टामै उनको सब्सक्राइबर ५० लाख नाघेका थिए । उनले युट्युब च्यानल खोलेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । उनले लेखेका थिए, लामो पर्खाइ सकिएको छ । मेरो युट्युब च्यानल यहाँ छ । मेरो नयाँ यात्रामा जोडिनुहोला । रोनाल्डोले युट्युब च्यानल खोलेको १६ घण्टा भएको छ र यो समाचार तयार पार्दासम्म उनीसँग १ करोड ४० लाखभन्दा बढी सब्सक्राइबर रहेका छन् जुन उल्लेखनीय हो ।
उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन् । १ करोड सब्सक्राइबर पुगेपछि पाउने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन् । अहिले उनको च्यानलमा १९ वटा विभिन्न भिडियो अपलोड भएका छन् भने ती भिडियोले पनि लाखौँ भ्युज पाइसकेका छन् ।
रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका पोर्चुगिज स्टार रोनाल्डो यतिबेला भने साउदी प्रोलिगमा आबद्ध छन् । उनी आबद्ध अल नासरले बिहीबार अल राइदसँग प्रतिस्पर्धासमेत गर्दैछ ।