वुटवल । सामाजिक कार्यमा अग्रणी भएर काम गरिरहेको संस्था पहिलो पाइला नेपालको तेस्रो महाधिवेशन बुटबलमा सम्पन्न भएको छ । भदौ ३ र ४ गते बुटबलमा भएको महाधिवेशनले विनोद महतको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आयुष पौडेल, उपाध्यक्षमा लेखबहादुर कुँवर, महासचिवमा पारस मरासिनी, सचिवमा कृष्णबहादुर रावत र सहसचिवमा मिलन लुइँटेल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सन्देश पोखरेल तथा सदस्यमा बाबुराम खनाल निर्वाचित भए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने १० ओटा साखालाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटबलको भूमिमा केन्द्रीय महाधिवशेन हुनु सुखद भएको भन्दै प्रशंसा व्यक्त गरेका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष निराजन धमलाले संस्थालाई नयाँ कार्यसमितिले थप उर्जाका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।