काठमाण्डौ आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरु ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । हिजो कास्की, मनाङ र गोरखाका केही ठाउँमा वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो ।
पछिल्लो २४ घण्टामा कास्कीको माछापुच्छ्रे बेसक्याम्पमा ३५ दशमलव २ मिलिमिटर, मनाङमा ५ दशमलव ४ मिलिमिटर र गोरखामा शून्य दशमलव ९ मिलिमिटर वर्षा मापन भएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।